राजविराज, २९ माघ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको किसिम परिवर्तनबारे भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीसँग तीन दिनभित्र जानकारी मागेको छ ।
'जग्गाहरुको किसिम परिवर्तन गर्ने निर्णय कुन कागजातका आधारमा गरिएको हो सो कागजातहरु भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीबाट तीनदिन भित्र मागेका छौं', भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक समेत रहेका प्रवक्ता बेदप्रसाद आर्यालले बताए ।
कागजात आएपछि विभागले आवश्यक अनुसन्धान गर्ने उनलेे बताए । गैरकानुनी रूपमा किसिम परिवर्तन गरिएको जग्गा अहिले प्लटिङ गरि धमाधम बिक्री सुरु गरिएको छ । किसिम परिवर्तन गरिएको जग्गाकाधनी मध्ये केही उपर दोहोरो नागरिकताको आरोपमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सप्तरीले छानबिन गरिरहेको छ ।
राजविराज नगरपालिका वडा नम्बर-२ का रमेशकुमार रुंगटा,आनन्दकुमार रुंगटा,राजेन्द्रकुमार रुंगटा,शरद रुंगटा र मनिषकुमार रुंगटाको नाममा दर्ता यी जग्गाधनी मध्ये राजेन्द्रकुमार रुंगटामाथि दोहोरो नागरिकताको अनुसन्धान समेत भईरहेको छ । यस्तै शरद रुंगटा भारतको मुम्बइमा एचडिएफसी बैंकको उच्च पदमा कार्यरत छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजका खरिदार रुपेशकुमार यादवको टिप्पणीमा मालपोत ऐन २०३६ को नियम ५ क बमोजिम उक्त जग्गाहरुमा लेखिएको मिल्स,मिल्स एरिया तथा इट्टाभट्टा संशोधन,कट्टा गरि आवादी कायम गर्दा मुनासिब हुने लेखेर निर्णयार्थ पेस गर्दा तात्कालीन निमित्त कार्यालय प्रमुख नायब सुब्बा रामनारायण शर्माले २०७९ साल चैत ३० गते सदर गरेका थिए । याे समाचार इकान्तिपुरबाट सभार गरिएको छ ।