२०८१ साल चैत ९ गते अाईतबार

पाठेघरकाे क्यान्सरबाट बचन सप्तरीमा माघ २३ देखि फाल्गुन ६ सम्म एच.पी.भी. खाेप अभियान

राजबिराज, १८ माघ । महिलाहरुकाे पाठेघरको मुखको क्यान्सरबाट बचाउन एच.पी.भी खाेप अभियान नुवाकोट जिल्ला बाहेक ७६ वटै जिल्लामा संचालित हुदै छ ।

जिल्ला खोप समन्वय समिती सप्तरीले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा संचार क्षेत्रसँगको अभिमुखीकरण कार्यक्रममा जिल्लामा माघ २३ देखी फाल्गुन ६ गतेसम्म दुई चरणमा संचालन हुने एच.पी.भी. खोप अभियानबारे विश्व स्वास्थ्य संगठनकी प्रतिनीधी एवं खोप अधिकृत सरला न्यौपानेले जानकारी गराइन ।

कार्यक्रममा न्यौपानेले तथ्याङ्क प्रस्तुत गर्दै पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार महिलाको मृत्यु हुने गरेको बताउँदै मृत्युदर घटाउन र महिलालाई पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन अहिले नेपालमा एच.पी.भी. खोप अभियान चलाइएको जानकारी समेत दिइन् । 

जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत कुल ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरी अभियान चलाउन लागिएको बताइन् । 
नेपालमा क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर नै पहिलो कारण देखिएको भन्दै अभियान सफल बनाउन सञ्चारकर्मीहरु समेतलाई सहयोग गर्न आग्रह गरिन । 

विश्वभरी प्रत्येक वर्ष ५ लाख ७० हजार महिलाको पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको जानकारी दिँदै मृत्यु दर यस्तै रहेमा सन् २०३० सम्मा यो संख्या बढेर ७ लाख पुग्ने अनुमान गरिएको बताइन् । 

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाका अनुसार पहिलो चरण माघ २३ देखी २९ सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने बताए । 

यस्तै दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचाल हुने प्रमुख झाले जानकारी दिए ।

उक्त अभियान मुलुकभर एकै दिन २२ माघ देखी संचालन हुने तय रहेपनि सप्तरीमा सरस्वती पुजा र त्यसको भोली पल्ट मुर्ती सेलाउन दिनमा विद्यालयहरु बन्द रहने भएका कारण यहाँ २३ माघदेखी अभियान थालिने निर्णय गरिएको बताए । 

जनस्वास्थ्य अधिकृत जागेश्वर खडकाले जिल्लामा एचपीभी खोप अभियान संचालनका लागी ४ सय ५० खोप केन्द्र कायम गरिएको र यसमा १ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघका सहसचिव कृष्ण मण्डल लगायतका व्यक्तले खोप अभियान सफल बनाउन सबैले सहयोग गर्नू पर्नेमा जोड दिएका थिए । 
प्रतिक्रिया