२०८२ साल असार २८ गते शनिवार

राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्रीको शुभकामना सन्देश

"मधेशले देशलाई खुवाउने अभियानलाई अझ बलियो बनाउँदैछौँ" — मुख्यमन्त्री सिंह

जनकपुरधाम, १५ असार । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी तथा देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएका छन्।

मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमार्फत कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रदेश सरकार अघि बढिरहेको जनाएका छन्। “मधेशले देशलाई खुवाउने” दीर्घकालीन अभियान अन्तर्गत उत्पादन मधेशमा गरी देशभर विस्तार गर्ने नीति अनुरूप कृषिजन्य वस्तुको आयात न्यूनीकरण र निर्यात प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्।

धान उत्पादन वृद्धि गर्न ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ कार्यान्वयनमा रहेको उल्लेख गर्दै उनले माटोको उर्वरता सुधार, सिंचाइ सुविधा, यान्त्रीकरण, विद्युतीकरण र व्यवसायीकरणमार्फत कृषिमा गुणात्मक सुधार गर्ने कार्यलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन्।

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान र प्रवर्द्धनमार्फत धान बालीको दिगो विकास सुनिश्चित गर्ने दिशामा सरकार क्रियाशील रहेको सन्देशमा उल्लेख छ। साथै, उन्नत बीउ, मल, सिंचाइ सुविधा र आधुनिक खेती प्रणालीमार्फत कृषकहरूको जीवनस्तर उकास्ने उद्देश्यले नीति तथा कार्यक्रम सञ्चालन भइरहेको मुख्यमन्त्री सिंहले बताएका छन्।

“राष्ट्रिय धान दिवसले हामी सबैलाई खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने साझा संकल्प र प्रेरणा मिलोस्”, भन्दै उनले सम्पूर्ण कृषकहरूप्रति सम्मान प्रकट गरेका छन्।

प्रतिक्रिया