२०८१ साल मङ्सिर २१ गते शुक्रबार

राजबिराजमा २५ वर्ष पछि पुनः काठ बिक्री डिपो संचालनमा

राजविराज, ९ चैत । राजबिराजमा काठ बिक्री डिपो कार्यालय शुक्रवारदेखि पुनः संचालनमा आएको छ ।

 संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले २५ वर्ष पहिले राजविराजबाट हटाइएको उक्त डिपो कार्यालयको शुक्रबार उद्घाटन गरे पछि संचालनमा आएको हाे ।

राजविराज नगरपालिका ८ मा खोलिएको उक्त कार्यालयको उद्घाटन लगत्तै उक्त डिपोबाट १ लाख भन्दा बढीको काठ बिक्री भएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष दासले जानकारी दिएका छन् ।

 काठ खरीद गर्ने पहिलो ग्राहक रहेका राजविराज नगरपालिका १३ विषयहरियाका पाण्डु रजकलाई मन्त्रि साहले स्वयं बिल हस्तान्तरण गरेका थिए । 

सो अवसरमा मन्त्रि साहले यस क्षेत्रका जनताको २५ वर्षको पर्खाइ पुरा भएको भन्दै नेपाल सरकारको मातहतमा रहेको नेपाल वन निगम लिमिटेडको काठ विक्री डिपो कार्यालय संचालन भएपछि सर्वसाधारणले राहात पाउने विश्वास व्यक्त गरे ।

मन्त्रिको पदभार ग्रहण गरेपछि पहिलो पल्ट गृह जिल्ला आएका उनले आफुलाई जनताको सेवक भएको बताउँदै सेवा गर्ने उद्देश्यले नै मन्त्रि पदको जिम्मेवारीमा पुगेको बताए ।

२५ वर्ष अघि तत्कालिन मन्त्रि एवम् मधेशवादी नेता गजेन्द्र नारायण सिंहको पालामा यहाँ वन मन्त्रालयले काठ बिक्री डिपो कार्यालय संचालनमा ल्याएको थियो । तर उनी पदबाट हटेपछि उक्त डिपो कार्यालय सिराहाको लहान सारिएको थियो ।

प्रतिक्रिया