बिरामी भए पनि नभए पनि चिकित्सकले ९ देखि ४ बजेसम्म समय दिनुपर्ने
राजबिराज, २० कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पतालको फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाईने बताउँदै त्यसो पाइएमा कानूनी बमोजिम दण्डित गरिने बताएका छन् ।
सप्तरीको राजविराजस्थित रामराजा स्थास्थ विज्ञान प्रतिष्ठान निर्मणस्थल तथा गजेन्द्र नारायण सिंह अस्पतालको मंगलबार निरीक्षण पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा बाेल्नुभएकाे हाे ।
प्रमुख आतिथ्यकाे रुपमा उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेले अस्पतालका सिटिस्क्यान, एमआरआई जस्ता सेवा बिग्रेको बहानामा थन्क्याएर राख्न नमिल्ने भन्दै एमआरआई, सिटिस्क्यान बिग्रेपनि सरकारी अस्पतालकै दररेटमा प्राईभेट अस्पतालमा चेकजाँचको व्यवस्था मिलाईनु पर्ने निर्देशन समेत दिनुभयाे । अस्पतालका चिकित्सकहरुले पनि विहान ९ देखि ४ बजेसम्म बिरामी भए पनि नभए पनि अस्पतालमै समय दिनु पर्छ भन्दै स्वास्थ्य विमाको रकम एक लाखबाट बढाएर पाँच लाख सम्म पुर्याउने तयारीमा सरकार लागेको कुरा बताउनु भयाे ।
राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि दरबन्दी भने वर्षौंदेखि थप नगरिएका कारण स्वास्थ्य सेवा प्रभावित रहेको खुलासा गर्दै उनले छिट्टै दरबन्दी थप गरी विभिन्न अस्पतालमा रिक्त स्थानको पूर्ति गरिने जानकारी दिए । सरकार चिकित्सकको सुरक्षा तथा सेवा थप गर्न तयार रहे पनि उपचारमा कमी भएमा कारवाही गर्न पनि पछि नपर्ने उहाँले चेतावनी दिनुभयो । मन्त्री पौडेलले कुनै पनि बहानामा उपचार सेवा रोक्न नमिल्ने जिकिर गरे ।
सो अवसरमा मन्त्री पौडेललाई अस्पताल सुधार र प्रतिष्ठान निर्माणका लागी तत्काल चाल्नु पर्ने आवश्यक कदमबारे सप्तरीका राजनीतिक दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक कुमार मण्डलले अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति, आवश्यक उपकरण तथा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक बजेट बिनियोजन गर्न माग राख्दै ज्ञापन पत्र समेत बुझाएका छन । कार्यक्रममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीका अध्यक्ष प्रा.डा. पशुपती चौधरी तथा गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.श्रीराम तिवारीले क्रमशः प्रतिष्ठान र अस्पतालको अवस्थाबारे मन्त्री पौडेल समक्ष प्रतिवेदन पेश गरेका थिए ।
मन्त्री पौडेल मंगलवार नै राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा प्रेस युनियनद्वारा आयाजित पत्रकार सम्मेलन तथा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित साह धर्मशालामा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समेत सहभागी भएका थिए ।