राजबिराज, १६ माघ । माओवादी केन्द्रका प्रभावशाली नेता तथा हनुमाननगर कंकालिनी नगरपालिकाकाे मेयर पदको प्रत्याशी राहुल मण्डलको नेतृत्वमा सयौंको संख्यामा नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।
बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवामा जसपा नेपाल नगर समितद्वारा आयोजित एक समारोहका बीच मण्डलको नेतृत्वमा सयौंको संख्यामा नेता तथा कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका हुन् ।
जसपा नेपाल हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष कृष्ण कुमार यादव (कृष)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले टिका, माला र गम्छा ओढाएर मण्डलसहितका नवप्रवेशी नेताकार्यकर्ता स्वागत गरेका थिए ।
बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा संसदीय दलका नेता मृगेन्द्र कुमार सिंह यादव, केन्द्रीय सचिब एवम् मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्घ कुमार सिंह यादव, केन्द्रीय अनुशासन विभाग अध्यक्ष जगदेव यादव, केन्द्रीय सदस्य विकास कुमार तिवारी, जिल्ला अध्यक्ष केदार प्रसाद यादवलगायतका केन्द्र प्रदेश जिल्ला स्तरीय नेता तथा स्थानीय कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।