२०८१ साल माघ २७ गते अाईतबार

मधेशकाे बजेट पुनर्लेखनकाे माग राख्दै चार पार्टीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र

जनकपुर, १६ असार  । मधेश प्रदेशको बजेट पुनर्लेखन लगायतका माग राख्दै चार पार्टीको संसदीय दलका नेताहरुले संयुक्त रुपमा आइतबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

गत असार १ गते मधेश प्रदेश सभामा पेश भएको आर्थिक वर्ष २०८१–०८२ को बजेट त्रुटिपूर्ण भएको मुख्यमन्त्री र मन्त्रीहरु स्वयम्ले स्वीकार गरिसकेकोले बजेट पुर्नलेखन गर्न माग गरेका हुन् । मधेश प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक रानीकुमारी शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता कञ्चन बिच्छद्वारा संयुक्त हस्ताक्षरित ज्ञापनपत्र मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाईएको छ ।  पुर्नलेखन गरिएको बजेट प्रदेश सभामा छलफल गराउन समेत माग गरिएको छ ।

असार १३ गते मुख्यमन्त्रीको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री, अर्थमन्त्रीबाट पाएको जानकारी अनुसार पीएलएमबीआइएस ह्याकरहरुबाट ह्याक गरी कार्यक्रम तथा बजेट रकम प्रविष्ट गरिएको तथा बजेट त्रुटिपूर्ण समेत रहेको मुख्यमन्त्री र मन्त्रीहरुले स्वीकार गरिसकेको जनाईएको छ ।

बजेटको विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानविन समिति गठन हुनुपर्ने, बजेट पुर्नलेखन गरी प्रदेश सभामा छलफल हुनुपर्ने र बजेट पुर्नलेखन गर्दा सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम हुनुपर्ने माग संसदीय दलका नेताहरुले गरेका छन् ।

प्रतिक्रिया