२०८२ साल असार २८ गते शनिवार

कर्मचारी आन्दोलनका कारण राजबिराज नगरपालिकाको सेवा प्रवाह ठप्प

चन्दन यादब

राजबिराज, ६ असार । राजबिराज नगरपालिकामा जारी कर्मचारी आन्दोलनका कारण सम्पूर्ण कामकाज प्रभावित भएको छ।

कर्मचारीहरूले असुरक्षाको महसुस गर्दै दोषीमाथि कानूनी कारबाहीको मागसहित गत शुक्रबारदेखि पेन डाउन गर्दै धर्ना सुरु गरेका हुन्।

आन्दोलनको आठौं दिन शुक्रबारसम्म पनि उनीहरूले सेवा प्रवाहमा सहभागी नभई आन्दोलनलाई निरन्तरता दिएका छन्। आन्दोलनका कारण दैनिक कार्य सम्पादन ठप्प हुँदा सर्वसाधारण सेवा ग्राही मर्कामा परेका छन्।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन राजबिराज नगर ईकाइ समितिको नेतृत्वमा भइरहेको आन्दोलनले कर्मचारीमाथि भएको दुर्व्यवहार, गालीगलौज र कुटपिटप्रति आपत्ति जनाउँदै कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ।

ईकाइ अध्यक्ष कल्पना देवले दोषीलाई कानूनअनुसार कारबाही नभएसम्म आन्दोलन नरोकिने बताइन्। लेखा अधिकृत शत्रुधनलाल दासले पनि कर्मचारीहरू अझै असुरक्षित रहेको बताउँदै सुरक्षा प्रत्याभूति नहुँदासम्म काममा फर्कन नसक्ने बताए।

गत जेठ २७ गते प्रमुख प्रशासकीय अधिकृतको हाजिरीलाई लिएर सुरु भएको विवादको क्रममा नगरपालिकाका निलम्बित नगरप्रमुख भीमराज यादव, योजना शाखा प्रमुख मनोज कुमार यादव र आन्दोलनकारी सुधिर यादवसहितको समूहले कर्मचारीमाथि गालीगलौज, कुटपिट र दुर्व्यवहार गरेको आरोप कर्मचारीहरूले लगाएका छन्।

यस घटनासँग सम्बन्धित उजुरीहरू प्रहरीमा दर्ता भएका छन्। कार्यबाहक नगरप्रमुख इसरत परविनले कर्मचारीमाथिको कुटपिट, सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट, गहना हराएको घटना, घाइतेको उपचार खर्च तथा पूर्वाधार क्षतिपूर्तिको माग गर्दै जाहेरी दिएकी छन्।

त्यस्तै वडा नं. ९ का अध्यक्ष जबाहर यादवले कार्यबाहक नगरप्रमुख विरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी प्रहरीमा दिएका छन्।

कर्मचारीहरूको आन्दोलनले नगरपालिकाको प्रशासनिक काम ठप्प बनेको छ भने समाधानको पहल अझैसम्म हुनसकेको छैन ।


प्रतिक्रिया