२०८२ साल असार २८ गते शनिवार

राजबिराजमा कावा नगरप्रमुख परविनविरुद्ध उजुरी, दुवै पक्ष प्रहरीमा

चन्दनकुमार यादव

राजबिराज, ४ असार ।राजविराज नगरपालिका–९ का वडाध्यक्ष जबाहर यादवले कार्यवाहक नगरप्रमुख इसरत परविनसहित ६ जनाविरुद्ध ज्यान मार्ने प्रयास गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका छन्।

बुधबार दर्ता गराइएको उजुरीमा वडाध्यक्ष यादवले कार्यवाहक नगरप्रमुख परविन, उनका पति समीम अख्तर अली, पालिकाका करार इञ्जिनियर फिरोज खान, लेखा अधिकृत शत्रुधन लाल दास, स्थानीय सनाउद्दिन खान र मो. सजादले आन्दोलनका क्रममा आक्रमण प्रयास गरेको उल्लेख गरेका छन्।

राजविराज नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिका विषयमा चलिरहेको विवादको क्रममा कार्यवाहक नगरप्रमुख पक्षले तालाबन्दी तोड्ने प्रयास गर्दा प्रतिकार गर्ने क्रममा आफूमाथि ज्यान लिने प्रयास गरिएको वडाध्यक्ष यादवको आरोप छ। उनले दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्।

यसैबीच, नगरपालिकाका योजना शाखा प्रमुख मनोज यादवले पनि कार्यवाहक नगरप्रमुख परविन र मो. सजादविरुद्ध छुट्टै उजुरी दिएका छन्। उनले गालीगलौज गर्दै हातहतियार प्रयोग गरी कुटपिट गरेको भन्दै घाउ जाँच तथा क्षतिपूर्तिको माग गरेका छन्।

दोस्रो तर्फ, कार्यवाहक नगरप्रमुख इसरत परविनले पनि जिल्ला प्रहरी कार्यालयमा निलम्बित नगरप्रमुख भीमराज यादव, योजना अधिकृत मनोज यादव, वडानम्बर ९ का सुधिर यादव र वडानम्बर १३ का गजेन्द्र यादव सहितका विरुद्ध उजुरी दिएकी छिन्।

परविनको उजुरीमा उनीहरूद्वारा नगरपालिका भवनमा तालाबन्दी गर्दै सार्वजनिक सम्पत्ति कब्जा तथा तोडफोड, उपद्रव र अवाञ्छित गतिविधि गरेको आरोप लगाइएको छ। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६ अनुसार दोषीहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न माग गरेकी छन्।

उक्त घटनाक्रम जेठ २७ गते नगरपालिकामा भएको हो। हाल प्रहरी दुवै पक्षका उजुरीका आधारमा अनुसन्धानमा जुटेको जनाएको छ।

प्रतिक्रिया