राजबिराज, २ पुस । सप्तरी सदरमुकाम राजविराजमा आगामी पुष १३ गते शनिवार विहान श्रीजगन्नाथ रथयात्रा निकालिने भएको छ ।
श्रीमदभागवत कथा एवं जगन्नाथ रथयात्रा २०८१ का मुल आयोजक श्रीकृष्णभक्त मंडल सप्तरी तथा इस्कान राजविराजले संयुक्तरुपमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो ।
विगत ३ वर्ष देखी राजविराजमा निकालिने जगन्नाथ रथयात्रामा हज्जारौ भक्तजनको सहभागिता हुने गरेको छ । श्रीकृष्णभक्त मंडल र इस्कान नामक धार्मिक संस्थाले लक्ष्मी नारायण राधाकृ्ष्ण मन्दिर समितीको समन्वयमा रथयात्रा महोत्सवको रुपमा मनाउन थालेको हो ।
तेश्रो संस्करणको रथयात्रा राजविराज ७ स्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट निस्कएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुने पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष हितेश यादवले जानकारी दिए ।
विगत भन्दा फरक र अझ भब्यरुपमा रथयात्रा निकाल्ने तयारी भएको सो अवसरमा कोषाअध्यक्ष दिपक भगतले जानकारी गराए । रथयात्रा व्यवस्थापन समितिका संयोजक अमित नायकले रथयात्रामा राजविराज आसपासका पालिका सहित सीमावर्ती भारतीय बजारबाट पनि ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरिएको बताए ।
गत वर्ष १५ हजार जतिको सहभागिता रहेकोमा यस पल्ट त्यसको दोब्बर ३० हजार देखी ३२ हजार सम्म भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको उनको भनाई थियो ।
रथयात्रा अघि पुष ५ गते शुक्रवार कलश यात्रा र प्रसिद्ध कथाबाचक रामानुज दासजी महाराजद्वारा श्रीमदभागवत कथावाचन कार्यक्रम प्रारम्भ हुने श्रीलक्ष्मी नारायण राधाकृष्ण मन्दिरका मूलपुजारी रत्नेश्वर झाले बताए ।
यस्तै पुष ११ गते विहीवार कथा विराम र पुष १३ गते शनीवार रथयात्रा तथा महापं्रसाद वितरण को कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा भागवत कथा आयोजन समितिका संयोजक निरज प्रसाद साहले जानकारी दिए । पत्रकार सम्मेलनमा वडासदस्य रामानन्द देव, समाजसेवी विरेन्द्र गुप्ता, किशोर कुमार यादव केसी लगायतले पनि कार्यक्रमको महत्व र तयारी बारे जानकारी गराएका थिए ।
भगवान सवार रथयात्राको दर्शन गरेमा वा रथयात्राको डोरी छोएमा मात्रै पनि मनोकाँक्षा पुरा हुने विश्वास रहेकोले प्रत्येक वर्ष रथयात्रामा सहभागी हुने भक्तजनको संख्या बढदै गएको आयोजकको भनाई छ ।