प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप
काठमाडौं, १२ चैत । नेपाल पत्रकार महासंघ ले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले आयोगले आफ्नो क्षेत्राधिकार नाघ्दै पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयमा गरेका कतिपय प्रावधानहरू आपत्तिजनक रहेको ठहर गरेको छ। २०८२ भदौ २३ र २४ गतेको घटनाको जाँचबुझका लागि गठित उक्त आयोगले प्रतिवेदनमा पत्रकार र सञ्चारमाध्यमका विषयमा स्वतन्त्र प्रेसको मर्मविपरीत हचुवाका भरमा टिप्पणी गरेको महासंघको आरोप छ।
महासंघका अनुसार प्रतिवेदनमा पत्रकार हुन कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने तथा १५ वर्षसम्म विभिन्न पदमा काम गरेको अनुभव हुनुपर्ने जस्ता प्रावधानहरू उल्लेख गरिएको छ, जुन लोकतन्त्रले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको मूल्य, मान्यता र मर्मविपरीत छन्।
महासंघले आयोगले संविधान र विद्यमान कानुनी व्यवस्थाविपरीत पत्रकारिता क्षेत्रमाथि टिप्पणी गरेको भन्दै त्यसप्रति असहमति जनाएको छ। साथै, प्रतिवेदन समग्रमा प्रतिशोधको भावनाबाट प्रेरित देखिएको र यसले भोलिको राज्यसंयन्त्रलाई प्रभावित पार्न खोजेको संकेत गरेको पनि महासंघको भनाइ छ।
महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा जारी विज्ञप्तिमा नेपाली पत्रकारहरू लोकतन्त्रप्रतिको आफ्नो आस्था र निष्ठामा दृढ रहेको उल्लेख गर्दै राज्यका सबै निकायलाई त्यसप्रति सचेत रहन आग्रह गरिएको छ।
महासंघले पत्रकार आचारसंहिता पालना गर्दै स्वच्छ, मर्यादित र जिम्मेवार पत्रकारिता गर्न प्रतिबद्ध रहेको जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि हस्तक्षेपको कडा प्रतिवाद गरिने चेतावनी दिएको छ।