२०८३ साल ब‌ैशाख ५ गते शनिवार

युद्धविरामसँगै कच्चा तेलको मूल्यमा ठूलो गिरावट

काठमाडौं, २५ चैत । डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविरामको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

युद्धविरामको सहमति र स्ट्रेट अफ होर्मुज खुल्ने संकेतपछि लगानीकर्ताहरूले राहत महसुस गरेका छन्। विश्व बजारमा अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (WTI) कच्चा तेलको मूल्य १६ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ९४.८५ डलरमा झरेको छ। कारोबारका क्रममा मूल्य ९१ डलरसम्म पुगेको थियो, जुन पछिल्लो केही साताकै न्यून स्तर हो।

यसअघि इरान–अमेरिका तनावका कारण तेलको मूल्य तीव्र रूपमा बढेको थियो। विशेषगरी स्ट्रेट अफ होर्मुज बन्द हुने जोखिमले विश्व आपूर्तिमा असर पार्दै बजार अस्थिर बनेको थियो। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलमार्गमार्फत हुने भएकाले यसको सञ्चालन अत्यन्त महत्वपूर्ण मानिन्छ।

इरानका विदेशमन्त्री अब्बास अरागाचीले पनि आक्रमण रोकिएमा आफूहरूले पनि हमला बन्द गर्ने बताएका छन्।

विश्लेषकहरूका अनुसार यो गिरावटले विश्व अर्थतन्त्रमा केही राहत ल्याए पनि दीर्घकालीन स्थिरताका लागि अझै राजनीतिक तथा कूटनीतिक सहमति आवश्यक रहेको छ।

प्रतिक्रिया