राजविराज, ९ फागुन । सप्तरीमा चुनावी माहोल तातिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले) को झण्डा जलाइएको घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ।
एमाले जिल्ला कमिटी सप्तरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला कमिटीका अनुसार सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत महदेवा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बद्ध कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन्। विज्ञप्तिमा उक्त कार्यलाई निन्दनीय, अराजक र आपराधिक गतिविधि भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ।
एमालेले नेपालको संविधानले नागरिकलाई राजनीतिक गतिविधि, सभा–समारोह तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण अधिकार दिएको उल्लेख गर्दै फरक विचारका नाममा हिंसात्मक र उच्छृंखल गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ। यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने तथा सामाजिक सद्भाव खल्बल्याउने पार्टीको भनाइ छ।
पार्टीले झण्डा जलाउने घटनाबाट कार्यकर्ताको भावनामाथि आघात पुगेको उल्लेख गर्दै आगामी निर्वाचनको निष्पक्ष वातावरण बिगार्ने प्रयास भएको आरोप लगाएको छ। साथै निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ।
जिल्ला सचिव देवनाथ यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन आयोग नेपाल ले समेत घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। दोषीमाथि कारबाही नभए उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी पनि एमालेले दिएको छ।