२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

सप्तरी–२ मा ‘मोबाइल’को समर्थन ‘डुंगा’लाई, शरत सिंह यादवको पक्षमा सुनिल राज दास

राजविराज, ५ फाल्गुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर २ मा जनअधिकार पार्टी का उम्मेदवार शरत सिंह यादव लाई आम जनता पार्टी सप्तरीले समर्थन गर्ने घोषणा गरेको छ।

मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमार्फत आम जनता पार्टीका उम्मेदवार सुनिल राज दास ले आफ्नो उम्मेदवारी फिर्ता लिँदै यादवलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका हुन्। उनले क्षेत्रको विकास, जनअधिकारको सुनिश्चितता तथा वैकल्पिक राजनीतिक शक्तिलाई मजबुत बनाउन समर्थन गरिएको बताए।

सो अवसरमा जनअधिकार पार्टीका अध्यक्षसमेत रहेका यादवले ११ बुँदे आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दै पार्टीको चुनावी उपस्थितिबारे जानकारी दिए। उनका अनुसार पार्टीबाट बारा र पर्सामा दुई–दुई जना तथा रौतहटमा एकजना गरी प्रतिनिधिसभा निर्वाचनमा कुल ६ जना उम्मेदवार रहेका छन्।

यादवले मधेशको अधिकार सुनिश्चित गर्ने, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको उल्लेख गरे। उनले जनताको साथ र समर्थनले आफू विजयी हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया