२०८३ साल ब‌ैशाख ५ गते शनिवार

जनकपुर टुडेका प्रधान सम्पादकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनकपुर टुडेका अध्यक्ष एवं प्रधान सम्पादक वृजकुमार यादवसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले प्रधान सम्पादक यादवसहित धनुषाको बटेश्वर गाउँपालिकाकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा हेर्ने छैठौं तहका अधिकृत सुमन कुमार पुरीलाई नियन्त्रणमा लिएको हो।

उनीहरूविरूद्ध उक्त  गाउँपालिकाअन्तर्गतका  वडाहरूमा स्वास्थ्य चौकी भवन र डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, अर्का अधिकृत पुरीको मिलेमतोमा  ६ लाख ४४ हजार १०० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएपछि उनीहरूविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता  राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

जनकपुर टुडेका अध्यक्ष तथा प्रधान सम्पादक यादवले कर्मचारीसँगको मिलोमतोमा बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृतको सूचना छपाइ गर्ने जिम्मा लिएको देखाइ नियमानुसार सूचना सार्वजनिक प्रकाशन नगरेर लुकाए छिपाइ गाउँपालिकाको ठेक्काको अभिलेखमा राख्ने गरी झुट्टा विवरणसहितको पत्रिकाको आधारमा ६ लाख ६४ हजार १०० रकम भुक्तानी लिएको पुष्टि भएको अख्तियारको दावी छ।

प्रधान सम्पादक यादवलाई मुख्य कसुरदार भइ कर्मचारीसरह काम गरेको भन्दै  उनीमाथि कसुरदार सरह सजाय गरी बिगो असुल गर्न माग गरिएको छ ।

प्रतिक्रिया