राजबिराज, १४ साउन । सप्तरीको कञ्चनरूप नगरपालिकाले कागजमा २ लाख भन्दा बढिको धानको विउ खरिद गरेको तथ्य बाहिरिएकाे छ ।
महालेखापरीक्षको ५९औं प्रतिवेदन २०७९का अनुुसार कञ्चनरूप पालिकाले गत आर्थिक बर्ष २०७७/०७८ मा ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गर्न विल भरपाई प्रमाण र कागजात विनाको ४ हजार ४ सय किलो विउ खरिद गरेको तथ्य बाहिरिएकाे हो ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को उपनियम ५ बमोजिम सरकारी रकम खर्च गर्दा त्यस्तो खर्चको पुष्टि गर्ने विल भरपाई प्रमाण र कागजात संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । तर कञ्चनरूप नगरपालिकाले भौचर नम्बर ९०८, २०७८ बैशाख १९ गतेमा जुटवाली अनुसन्धानलाई २ लाख ६४ हजार भुक्तानी गरेको महालेखापरीक्षको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा नत यसरी खरिद गरेको घानको विउ पाउने कृषक छनोटको आधार र वितरण भरपाई पेश हुनु पर्नेमा पालिकाले सो भरपाई पेश नगर्दा २ लाख ६४ हजार बेरूजु ठहर गरेको छ । त्यसैगरी कञ्चनरूप नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ मा समेत ५० प्रतिशत अनुदानमा उन्नत जातको धान विउ वितरण गरेको थियो । प्रतिकिलो ५५ रूपैयाँको दरले १५ हजार २ सय ३५ किलो धानको विउ खरिद गरेकोमा १३ हजार ४ सय ८५ किलो मात्र बितरण भएको ५९औं महालेखापरीक्षको बार्षिक प्रतिवेदनले उल्लेख गरिएको छ ।
प्रतिवेदनमा उल्लेख भएबमोजिम बाँकी रहेको धान कृषकले खरिद नगर्दा पालिकाले प्रतिकिलो २७ रूपैयाको दरले बाँकी रहेको १७ सय ५० किलो विउ खाद्यन्न गोदाममा विक्रि गरेको छ । यसरी कृषकको माग तथा लागत अनुमान बेगर खरिद गरेको कारणले खरिद मूल्य भन्दा घटी मूल्यमा विक्रि गर्दा पालिकालाई ४० हजार २ सय ८० रूपैयाँ नोक्सान पारेको महालेखापरीक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ ।