२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

बीएनपी अध्यक्ष तरिक रहमान भाेली बंगलादेशका प्रधानमन्त्री बन्दै

काठमाडौँ, ४ फाल्गुन । बंगलादेशमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तरिक रहमानले मंगलबार (भाेली) प्रधानमन्त्री पदको सपथ लिने भएका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बीएनपीले दुई–तिहाइभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत हासिल गरेपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन्।
राजधानी ढाकास्थित संसद् भवनको दक्षिण प्लाजामा आयोजना हुने सपथ समारोहमा बिहान १० बजे सांसदहरूको सपथ र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रीहरूको सपथ कार्यक्रम तय गरिएको छ। बंगलादेशी सञ्चारमाध्यम द डेलीस्टारका अनुसार समारोहमा विभिन्न मित्रराष्ट्रका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन्।
समारोहमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार ढाका प्रस्थान गरिसकेका छन्। परराष्ट्र मन्त्रालयले उनको भ्रमणले नेपाल–बंगलादेश सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी भारतबाट लोकसभाका सभामुख ओम बिर्ला र पाकिस्तानबाट उच्चस्तरीय प्रतिनिधिहरू सहभागी हुनेछन्।
निर्वाचनमा २९९ निर्वाचन क्षेत्रमध्ये २९७ सिटको मतगणनामा बीएनपीले २०९ सिट जितेको थियो। सहयोगी दलहरूसहित बीएनपी नेतृत्वको गठबन्धनले कुल २१२ सिट जित्दै सरकार गठनका लागि स्पष्ट बहुमत हासिल गरेको छ। दुई सिटमा अदालतको आदेशले मतगणना रोकिएको छ भने एक क्षेत्रमा उम्मेदवारको निधनका कारण निर्वाचन स्थगित गरिएको थियो।
बंगलादेशको संसद्मा कुल ३५० सिट छन्, जसमध्ये ३०० सिट प्रत्यक्ष निर्वाचनबाट र ५० सिट महिलाका लागि समानुपातिक प्रणालीमार्फत चयन गरिन्छ। बीएनपीको यो जीतलाई बंगलादेशको राजनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रतिक्रिया