राजविराज, ४ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडा चोकमा राजनीतिक दलका झण्डा र तोरण टाँगिन थालेपछि चुनावी माहोल तात्न थालेको छ।
विशेषगरी जनमत पार्टी र जनता समाजवादी पार्टी नेपाल (जसपा) का चुनाव चिन्ह अंकित झण्डाहरू मुख्य चोकभरि सजाइएपछि स्थानीय तहमा चुनावी चर्चा तीव्र बनेको हो।
झण्डै २० हजार मतदाता रहेको छिन्नमस्ता गाउँपालिकाको प्रमुख व्यापारिक तथा आवागमन केन्द्रका रूपमा परिचित सखडा चोकमा दुवै दलले झण्डा र तोरणमार्फत आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास गरेका छन्। यसले स्थानीय बासिन्दाबीच चुनावी माहोल सिर्जना गर्नुका साथै उम्मेदवार र परिणामबारे चासो बढाएको छ।
स्थानीयका अनुसार केही दिनअघिसम्म शान्त देखिएको सखडा चोक अहिले चुनावी रङ्गले भरिएको छ। झण्डा, तोरण र चुनाव चिन्हले चोकको स्वरूप परिवर्तन भएको छ भने राजनीतिक गतिविधि विस्तारै बढ्दै गएको छ।
यस क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत पुनः आफ्नो जित सुनिश्चित गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। उता नेकपा माओवादी केन्द्र परित्याग गरी जसपामा प्रवेश गरेका उमेश कुमार यादव पनि आफ्नो गृहक्षेत्र केन्द्रित प्रचारप्रसारमा सक्रिय देखिएका छन्।
त्यसैगरी स्वाभिमान पार्टीबाट शतिस सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रामजी यादव लगायत कुल ३४ जना उम्मेदवार एक पदका लागि प्रतिस्पर्धामा छन्। तर रोचक पक्ष के छ भने तीमध्ये दुई दर्जनभन्दा बढी उम्मेदवारको चुनावी गतिविधि भने हालसम्म खासै देखिएको छैन।
निर्वाचन मिति नजिकिँदै जाँदा मुख्य प्रतिस्पर्धी दलहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। सखडा चोकमा देखिएको झण्डा र तोरणले चुनावी माहोल तात्दै गएको संकेत गरेको छ भने आगामी दिनमा सप्तरी–२ अन्तर्गतका गाउँ तथा बजार क्षेत्रमा चुनावी गतिविधि अझै बढ्ने अपेक्षा गरिएको छ।