राजबिराज , २२ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र विकासीय बजेट विनियोजन नहुनु मधेशी जनताप्रतिको ठाडो बेइमानी भएको बताएका छन्।
सप्तरीको रुपनी गाउँपालिका–२, पिपराहीमा आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा बोल्दै यादवले पहाडी र मधेशबीच प्रतिनिधित्वमा गहिरो असमानता रहेको उल्लेख गरे। “पहाडमा ८–१० हजार जनसङ्ख्यामा एक जना प्रतिनिधि हुन्छ, मधेशमा डेढ लाखमा पनि एक जना मात्रै,” उनले भने।
उनका अनुसार मधेशको जनसङ्ख्या करिब ६० प्रतिशत भए पनि विकासीय बजेट ११ प्रतिशत मात्र छ भने देशको ७० प्रतिशत राजश्व मधेशबाट उठ्छ। “यो मधेशी जनताप्रतिको ठाडो बेइमानी हो,” उनले दोहोर्याए।
मधेश जनविद्रोहकै कारण महिला, दलित, थारु, आदिवासी, जनजाति, मुस्लिम तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै उनले अधिकार नदिँदा संघीयता कमजोर बनाइएको आरोप लगाए।
संविधान संशोधन तथा पुनर्लेखनमार्फत अधिकार सुनिश्चित गर्न जसपा नेपाल बलियो भएर प्रतिनिधिसभामा पुग्नुपर्ने उनले बताए। बुधबारै रुपनी गाउँपालिका–४ का विभिन्न वडामा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष यादवसहितका नेताहरू सहभागी भएका थिए।