काठमाडौं, १४ चैत । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा देशव्यापी आन्दोलनको संकेत दिएको छ। पार्टीको सचिवालयको आकस्मिक बैठकले शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
एमालेका २३ वटा जनसंगठनलाई सडकमा उतार्ने तयारीसँगै पार्टीले सरकारविरुद्ध कडा प्रतिवाद गर्ने रणनीति बनाएको छ। यसअघि नै अध्यक्ष पक्राउ गरिए प्रतिरोधमा उत्रने चेतावनी दिँदै एमालेले विज्ञप्ति सार्वजनिक गरेको थियो।
शनिबार बिहान सबेरै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउपछि पार्टीभित्र आकस्मिक रूपमा सचिवालय बैठक डाकिएको थियो।
यसैबीच, स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएका ओलीलाई अस्पतालमै भर्ना गरिएको जनाइएको छ।
अध्यक्ष पक्राउ प्रकरणपछि राजनीतिक अवस्था थप तातिएको छ भने एमालेले आन्दोलनलाई सशक्त बनाउने संकेत दिएको छ।