राजविराज, ९ फागुन । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को झण्डा जलाइएको घटना सार्वजनिक भएको छ।
एमालेको झण्डासहित प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्वीर जलाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। भिडियोमा केही व्यक्तिहरूले नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महादेवा गाउँपालिका–५ निवासी २५ वर्षीय हरिनारायण मण्डल रहेका छन्। जिल्ला प्रहरी स्रोतका अनुसार मण्डल निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारी हुन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य जारी रहेको जनाएको छ।