२०८३ साल ब‌ैशाख ५ गते शनिवार

एमालेले मधेशका समस्या समाधानका लागि तत्काल कदम चाल्न माग गर्‍यो

जनकपुरधाम, असार २८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले मधेशमा बढ्दो समस्या र जनताको पीडालाई गम्भीर रुपमा लिँदै तत्काल समाधानका लागि केन्द्र  सरकारलाई ठोस मागसहित दबाव दिएको छ।

शुक्रबार अध्यक्ष चन्द्रेश्वर मण्डलको अध्यक्षतामा बसेको बैठकले विभिन्न समसामयिक समस्याबारे छलफल गर्दै विशेष प्रस्ताव पारित गरेको हो।

प्रेस नोटमार्फत एमालेले मधेश प्रदेशका नागरिकहरू खानेपानी, सिँचाइ, महँगी, बेरोजगारी, बाढी, र पशुजन्य रोगका कारण समस्यामा परेको उल्लेख गर्दै सरकारलाई तत्काल राहत र दीर्घकालीन योजना ल्याउन आग्रह गरेको छ।

प्रेस नोटमा उल्लेख गरिएका प्रमुख मागहरू यस प्रकार छन् :

१. सुख्खा क्षेत्र घोषणा गर्नुपर्ने माग

प्रदेशमा बढ्दो गर्मी र खडेरीका कारण जनजीवन संकटमा परेकाले मधेशलाई ‘सुख्खा क्षेत्र’ घोषणा गरी आकस्मिक राहत वितरण र खानेपानी–सिँचाइको दीर्घकालीन व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

२. कृषकलाई सहुलियत दिनुपर्ने

सिँचाइको अभावले कृषि उत्पादन प्रभावित भएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई प्रभावकारी रूपमा सञ्चालन गरी किसानलाई बिउ, मल, सिंचाइ सुविधा र बीमा उपलब्ध गराउनुपर्ने भनिएको छ।

३. बाढी पूर्वतयारीमा जोड

बाढीको जोखिम बढ्दै गएको वर्तमान अवस्थामा विगतका त्रुटि दोहोरिन नदिन सरोकारवाला निकायसँग समन्वय गरी बाँध मर्मत तथा नियन्त्रणका उपाय तुरुन्त अघि बढाउनुपर्नेमा एमालेको जोड छ।

४. पशुपालक किसानका लागि राहतको माग

पशुपालनबाट गुजारा चलाउने किसानका पशुहरू रोगका कारण मरेको उल्लेख गर्दै प्रभावित किसानलाई राहत दिन र पशुरोग नियन्त्रणका लागि तत्काल योजना ल्याउन केन्द्र  सरकारसँग माग गरिएको छ।

प्रतिक्रिया