२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

जयप्रकाश ठाकुरद्वारा जसपा नेपाल परित्यागको घोषणा

राजविराज, ८ फागुन । नेता जयप्रकाश ठाकुरले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेको औपचारिक घोषणा गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उनले पार्टीबाट अलगिएको जानकारी दिएका हुन्।

पार्टीको समन्वय समिति सदस्यका रूपमा क्रियाशील ठाकुर यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल का केन्द्रीय उपाध्यक्ष समेत रहिसकेका छन्। सार्वजनिक विज्ञप्तिमा उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको, सामूहिक निर्णय प्रक्रियाभन्दा व्यक्तिवादी शैली हावी भएको तथा सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्।

त्यसैगरी अवसरवादी गठबन्धन, अस्थिर राजनीतिक कार्यदिशा, पारदर्शिता र जवाफदेहिताको अभावजस्ता कारणले पार्टीमा बसिरहन नसकिएको उनले उल्लेख गरेका छन्। ठाकुर यसअघि नै अनौपचारिक रूपमा पार्टी गतिविधिबाट अलग भइसकेको जनाइएको छ।

उनका बुहारी राष्ट्रिय स्वतन्त्र पार्टी बाट समानुपातिक उम्मेदवार रहेको समेत खुलासा भएको छ। सप्तरीको राजनीतिमा सक्रिय ठाकुरले उपेन्द्र यादव विरुद्ध दुई पटक उम्मेदवारी दिएका थिए। स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यवसायीका रूपमा परिचित ठाकुरको पछिल्लो निर्णयले सप्तरीको स्थानीय राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।

प्रतिक्रिया