२०८२ साल असार २८ गते शनिवार

अढाई वर्षअघि आठ क्विन्टल गाँजा तस्करीका आरोपित पक्राउ

राजविराज, ४ असार । सप्तरीको कोशी नदी हुँदै ठूलो परिमाणमा लागुऔषध गाँजा तस्करी गर्न खोजेको आरोपमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले अढाई वर्षपछि पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भारदहको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहका ३५ वर्षीय जोगानन्द मण्डल उर्फ बुधनलाई आइतबार राति पक्राउ गरेको हो।

२०७९ पुस १४ गते प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी टोलीले कोशी ब्यारेजस्थित गोलघरदेखि करिब ५ सय मिटर उत्तर–पूर्वतर्फ रहेको कोशी भंगालको पूर्वी टापुमा खानतलासी गर्दा बालुवामुनिबाट २७ वटा बोरामा राखिएको ८ क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो। तर, सो घटनामा संलग्न रहेको आरोपित मण्डल भने त्यसबेला घटनास्थलबाट फरार भएका थिए।

अब अढाई वर्षपछि पक्राउ परेका मण्डलमाथि लागुऔषध गाँजासम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार मण्डलमाथि लागेका अन्य मुद्दाहरुका विषयमा पनि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया