काठमाडौं, २ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन्।
कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।
यसअघि अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
श्रेष्ठ यसअघि प्रधानमन्त्री सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्ति गरेको विषयमा विवादमा परेका थिए। उक्त विवादपछि उनलाई सचिवालयबाट हटाइएको थियो।
राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले श्रेष्ठको प्रशंसा गर्दै उनलाई कानुन र प्रविधिमा दख्खल भएको तथा लामो समय अदालतमा काम गरेको अनुभवी व्यक्ति भएको बताएकी छन्।
यसैबीच मन्त्रिपरिषद्को आजको बैठकले ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।