कृष्ण मण्डल राजबिराज, १६ फाल्गुन । सप्तरी–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनमत पार्टीका उम्मेदवार तथा राष्ट्रिय अध्यक्ष सीके राउतको अगुवाइमा करिब पाँच हजार मोटरसाइकल सहभागी भएको बृहद् र्याली प्रदर्शन गरिएको छ।
र्याली सदरमुकाम राजबिराज नगरपरिधिभित्र परिक्रमा गर्दै शक्ति प्रदर्शनमा परिणत भएको थियो।
जनमत पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थितिले क्षेत्रको चुनावी माहोल थप तातेको देखिएको छ। विभिन्न स्थानबाट सहभागी कार्यकर्ताहरू झण्डा र नारासहित नगरका मुख्य सडकमा उत्रिएका थिए। र्यालीपछि आयोजित संक्षिप्त सम्बोधनमा राउतले जनताको समर्थन आफूहरूको पक्षमा बढ्दै गएको दाबी गरेका थिए।
सप्तरी–२ मा यसपटक कुल ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये जनमत पार्टीका अध्यक्ष राउतलाई अग्रणी दाबेदारका रूपमा हेरिएको छ। अन्य प्रतिस्पर्धी दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल जनता दल तथा राष्ट्रिय स्वाभिमान पार्टीका उम्मेदवारहरू रहेका छन्।
स्थानीय राजनीतिक वृत्तमा आजको बृहद् प्रदर्शनले चुनावी समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ। यद्यपि अन्तिम परिणाम भने मतदाताको निर्णयमै निर्भर रहनेछ।