२०८३ साल ब‌ैशाख ५ गते शनिवार

एमाले झण्डासहित सप्तरी–२ का उम्मेदवार रहमानको तस्वीर जलाइएको भिडियो सार्वजनिक

कृष्ण मण्डल

राजविराज, ८ फागुन : नेकपा (एमाले) को झण्डासहित सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मो. अब्दुल रहमानको तस्वीर जलाइएको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भिडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता रहेको बुझिने एक समूहले एमालेविरुद्ध गालीगलौज गर्दै रास्वपाको जयकार गरेको देखिन्छ। सो क्रममा एक व्यक्तिले एमालेको झण्डासहित उम्मेदवार रहमानको तस्वीर जलाएको दृश्य देखिएको छ।

भिडियोमा जलाउने समूहले “सप्तरी–२ अन्तर्गत महदेवा गाउँपालिका मा एमालेलाई यसरी स्वागत गरिन्छ” भन्दै अशोभनीय तथा आपत्तिजनक शब्द प्रयोग गरी नाराबाजी गरेको सुनिन्छ।

उक्त गतिविधि निर्वाचन आचारसंहिता विपरीत हुन सक्ने भन्दै स्थानीयस्तरमा आलोचना भइरहेको छ। यद्यपि घटनाबारे सम्बन्धित निकायको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर राईले घटना जानकारीमा आएको र आवश्यक अनुसन्धान भइरहेको बताउँदै परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरे।

यता दाङमा एमालेको झण्डा जलाइएको घटनाको विरोधमा एमाले निकट युवा संघ र अनेरास्ववियुले सप्तरीसहित देशका विभिन्न स्थानमा प्रदर्शनसमेत गरेको छ।



प्रतिक्रिया