राजविराज, १५ चैत । नेपाल राष्ट्रिय मुसहर संघ, जिल्ला समिति सप्तरीको आयोजनामा मुसहर समुदायले ११औँ दिनाभद्री जन्मोत्सव विविध कार्यक्रमसहित मनाएका छन्।
आइतबार राजविराज मा बृहत् र्याली प्रदर्शन गर्दै मुसहर समुदायमाथि हुने विभेद अन्त्य गर्नुपर्ने माग गरिएको हो।
यस अवसरमा जन्मोत्सव कार्यक्रम राजविराज नगरपालिका–५ बलानन्द टोल र वडा नं. २ योगिया बस्तीमा तीन दिनसम्म विभिन्न कार्यक्रमसहित मनाइने आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, पत्रकार तथा समुदायका अगुवाहरूको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममार्फत संघले १८ बुँदे माग अघि सारेको छ। जसअन्तर्गत निःशुल्क तथा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सुनिश्चितता, सुरक्षित आवास व्यवस्था तथा सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग रहेका छन्।
त्यसैगरी, स्वास्थ्य सेवा तथा बीमाको पहुँच विस्तार गर्नुपर्ने र मुसहर समुदायको अधिकार सुनिश्चित गर्न मुसहर आयोग गठन गर्नुपर्ने मागसमेत गरिएको छ।
मुसहर समुदायले दिनाभद्री जन्मोत्सवलाई आफ्नो पहिचान, अधिकार र सामाजिक न्यायको आवाज बुलन्द गर्ने अवसरका रूपमा मनाउँदै आएको छ।