राजबिराज ,२० जेठ । वर्षाै देखि ठेकेदार कम्पनीले सडक निर्माणको काम पूरा नगरेको भन्दै स्थानीय युवाहरूले सप्तरी सदरमुकाम राजविराजमा चक्काजाम गरेका छन ।
सडक निर्माणकार्य छिटो सक्न पटकपटक स्थानीय युवाहरूले सडक जाम गर्दै आउदा पुन आज मंगलबार बिहानै देखि बासंकाे ढठी लगाएर जाम गरेको हाे ।
कान्छाराम कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का लिएर पनि लामो समयदेखि अधुरा राख्दा दुर्घटनासहितका जोखिम भइरहेको भन्दै युवाहरूले चक्काजाम गरेका छन ।
सडक निर्माणको काम अविलम्व सकाउन तिनै तहका सरकारको ध्यानाकर्षण गराउन पटक-पटक सडक संघर्ष गर्दा पनि निर्माण सम्पन्न नभएको संघर्षरत युवाहरूको भनाई छ ।
स्थानीय नेता चाैक अथवा जनआन्दोलन चौकदेखि राम मन्दिरसम्मको करिब २ सय मिटर सडक ठेकेदारले अधुरै छाडेका हुन् । स्थानीयले राजविराजको मुख्य सडक अवरूद्ध गरेपछि सर्वसाधारणको आउ-जाउ प्रभावित भएको छ भने सवारीसाधन आवगमनमा समेत कठिनाइ भएको छ ।
उक्त सडक निर्माण कार्य छिटोभन्दा छिटो सकाउन राजबिराज नगरपालिका संयाेजक हुने गरी पाँच पटक समेत समिति गठन भयो तर कार्यान्वयन भने नभएको युवाहरुले आक्राेश पाेखेका छन् ।