राजविराज, फागुन १६ । नेपाली कांग्रेस र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सहकार्य गर्ने सहमति भएको छ।
दुवै दलले वर्तमान राजनीतिक अवस्था मार्गविहीन बन्दै गएको र लोकप्रियतावादी गतिविधिले समाजमा अराजकता बढाउने खतरा रहेको निष्कर्ष निकाल्दै लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्। सोही आधारमा पाँच बुँदे सहमति गर्दै संयुक्त रूपमा अघि बढ्ने निर्णय गरिएको जनाइएको छ।
सहमति अनुसार राष्ट्रिय मुक्ति पार्टी नेपालका प्रत्यक्ष उम्मेदवार गजेन्द्र कुमार मण्डलले नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादवलाई समर्थन गर्नेछन्। साथै, क्षेत्र नम्बर ३ का सबै वडामा दुवै पक्षका उम्मेदवार संयुक्त रूपमा पुगेर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसका पक्षमा मत माग्ने सहमति भएको छ।
यद्यपि, राष्ट्रिय मुक्ति पार्टी नेपालको समानुपातिक उम्मेदवारी भने यथावत् रहनेछ र सोतर्फ आफ्नै पार्टीका लागि मत मागिने उल्लेख गरिएको छ।
भविष्यमा हुने अन्य निर्वाचनमा समेत आपसी सहमति र सहकार्यलाई निरन्तरता दिने तथा निर्वाचन क्षेत्रस्तरीय विकास–निर्माणका काममा चुनावपछि समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता पनि सहमतिपत्रमा उल्लेख छ।
सहमति पत्रमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ३ संयोजक मनोज कुमार यौधरी र नेपाली कांग्रेस सप्तरीका जिल्ला सचिव सनत कुमार मण्डलले हस्ताक्षर गरेका छन्।