२०८३ साल ब‌ैशाख ५ गते शनिवार

निर्वाचन लक्षित मदिरा बिक्री–वितरणमा कडाइ

राजविराज, ११ फाल्गुन । आश्नन प्रतिनिधि  सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाभर मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्ने निर्णय गरेको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले चुनाव अवधिभर अवैध मदिरा ओसारपसार तथा बिक्री–वितरण नियन्त्रण गर्ने निर्णय गरेको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो कदम चालिएको प्रशासनले जनाएको छ।

जिल्लाभित्र अनुमति बिना मदिरा बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको छ। इजाजतबिना बिक्री गरेको पाइएमा मदिरा जफत गरी कानुनी कारबाही गरिनेछ भने होटल तथा रेस्टुरेन्टमा मदिरा सेवनको समय बेलुका ८ बजेसम्म मात्र तोकिएको छ।

मिठाई पसलहरूमा म्याद गुज्रेका तथा अखाद्य वस्तु मिसाएर बिक्री भइरहेको गुनासोपछि अनुगमन तीव्र पारिने प्रशासनले जनाएको छ। सवारीसाधनमार्फत मिठाई ढुवानी गर्दा अनिवार्य रूपमा ढाकेर लैजानुपर्ने व्यवस्था गरिएको छ भने मिठाई बनाउन प्रयोग हुने तेलको गुणस्तरसमेत परीक्षण गरिनेछ।

यस्तै, पान तथा किराना पसलले इजाजतपत्र बिना सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा अनुगमन गरी कारबाही गरिने चेतावनी दिइएको छ। सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार विद्यालय, कलेज, स्वास्थ्य संस्था तथा बाल कल्याण गृहबाट १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने प्रशासनले जनाएको छ।

निर्वाचन अवधिमा शान्ति–सुरक्षा र उपभोक्ता अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै अनुगमन तथा कारबाही प्रभावकारी बनाइने प्रशासनको भनाइ छ। साथै सबै व्यवसायी तथा सर्वसाधारणलाई निर्णयको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया