२०८३ साल ब‌ैशाख ५ गते शनिवार

सप्तरी–२ मा जसपाको शक्ति प्रदर्शन

राजविराज, १८ फागुन । सप्तरी–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उमेश यादवको नेतृत्वमा आज राजविराजमा वृहत् र्‍याली तथा शक्ति प्रदर्शन गरिएको छ।

राजविराजस्थित राजरङ्गशालाबाट सुरु भएको र्‍याली नगर परिक्रमा गर्दै विभिन्न मुख्य चोक तथा बजार क्षेत्र हुँदै सम्पन्न भएको थियो। र्‍यालीमा सहभागी समर्थकहरूले पैदल मार्च गर्दै पार्टीका पक्षमा नाराबाजीसमेत गरेका थिए।

प्रचार–प्रसारको अन्तिम मिति फागुन १८ गते तोकिएको सन्दर्भमा उम्मेदवार यादवले पूर्वसन्ध्यामा शक्ति प्रदर्शन गरेका हुन्। यससँगै निर्वाचन क्षेत्रका विभिन्न वडाहरूमा समेत प्रचारात्मक कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।


सप्तरी–२ मा करिब १ लाख ५ हजार मतदाता रहेका छन् भने यस क्षेत्रमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पछिल्ला दिनहरूमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूको सक्रियता बढेसँगै चुनावी माहोल झन् तातिँदै गएको छ।

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो, सभा तथा र्‍यालीमार्फत मतदाता आकर्षित गर्ने प्रयासमा केन्द्रित देखिएका छन्।



प्रतिक्रिया