राजबिराज, १६ फाल्गुन। सप्तरी–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार सूर्यनाथ यादव (सुभाष)ले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।
उम्मेदवार यादवले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार तथा सुशासनलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्। स्वास्थ्य क्षेत्रमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास, गजेन्द्र नारायण सिंह अस्पतालको सेवा सुधार र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको पूर्ण सञ्चालनमा जोड दिने योजना अघि सारेका छन्।
शिक्षा र रोजगारीका क्षेत्रमा सामुदायिक विद्यालयको पूर्वाधार विकास, नमूना विद्यालय स्थापना, सीप तालिम सञ्चालन र महेंद्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा छात्रावास सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।
कृषि, पूर्वाधार र सिँचाइ क्षेत्रमा विशेष पहल गर्दै, ग्रामीण सडक, पुल–पुलेसा र राजबिराज–काठमाडौं हवाई सेवा स्थापना गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
यादवले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अपनाउने, स्थानीय सरकार सुदृढ बनाउने र सीमावर्ती क्षेत्रमा डुबान समस्या समाधान गर्ने योजना अघि सारेका छन्।