काठमाडौं, १४ जेठ । नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरेको छ । तलब वृद्धिसँगै विभिन्न तहका कर्मचारीको कुल पारिश्रमिक पनि उल्लेख्य रूपमा बढेको छ ।
सरकारले आधारभूत तलबसँगै प्रोत्साहन रकम र मासिक ५ हजार रुपैयाँ महंगी भत्ता कायम राखेको छ । नयाँ व्यवस्थाअनुसार मुख्यसचिवको कुल मासिक पारिश्रमिक ९८ हजार ४२५ रुपैयाँ पुगेको छ भने सचिवको ९२ हजार २१९ रुपैयाँ पुगेको छ ।
तलब वृद्धिपछि सहसचिवले मासिक ७३ हजार ७१२ रुपैयाँ, उपसचिवले ६३ हजार ९७१ रुपैयाँ तथा अधिकृत स्तरका कर्मचारीले ५७ हजार ८६२ रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।
त्यस्तै, नायब सुब्बा (नासु) को कुल पारिश्रमिक ४७ हजार २३ रुपैयाँ पुगेको छ भने खरिदारले ४४ हजार ८१० रुपैयाँ पाउने भएका छन् । कार्यालय सहयोगीको कुल मासिक पारिश्रमिक ३८ हजार ४०९ रुपैयाँ कायम गरिएको छ ।
सरकारले कर्मचारीको मनोबल उच्च बनाउने, बढ्दो महंगीको असर न्यूनीकरण गर्ने तथा सार्वजनिक सेवामा आकर्षण कायम राख्ने उद्देश्यले तलब वृद्धि गरिएको जनाएको छ ।