काठमाडौं, ६ चैत । सहरी विकास मन्त्री कुमार इङ्नाम नयाँ सरकार गठन हुनुभन्दा एक साता अघि नै पदबाट बिदा भएका छन् । तर उनको बिदाइ सम्बोधनले परम्परागत शैली तोड्दै प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ।
सामान्यतया बिदाइ कार्यक्रममा उपलब्धि, सहकार्य र धन्यवाद आदानप्रदान हुने गर्छ । तर मन्त्री इङ्नामले आफ्नो कार्यकाललाई ‘इतिहासकै असफल’ भन्दै आत्मालोचना मात्र गरेनन्, कर्मचारी संयन्त्र र मन्त्रालयभित्रको कार्यशैलीमाथि कडा प्रहार गरे।
सम्बोधनको सुरुवातमै उनले आफूलाई “नालायक र पङ्गु मन्त्री” को संज्ञा दिँदै तीन वर्षअघि बजेट विनियोजन भएको आफ्नै विद्यालयको रकम समेत निकासा गराउन नसकेको भन्दै गम्भीर हिनताबोध व्यक्त गरे।
“मैले केही पनि काम गर्न सकिनँ, मलाई त कालोमोसो दलेर निकाले पनि हुन्थ्यो,” उनले भने।
उनले मन्त्रालयभित्र कर्मचारीको अटेरीपन र निर्णय कार्यान्वयनमा अवरोध भएको आरोप लगाए। महानिर्देशक सरुवा गर्न खोज्दा सचिवले असहयोग गरेको र पछि आफूविरुद्ध ३ करोड घुस लिएको हल्ला फैलाइएको दाबी पनि उनले गरे।
मन्त्री इङ्नामले सहरी विकास मन्त्रालयलाई भूमि मन्त्रालयभन्दा बढी भ्रष्ट भएको टिप्पणी गर्दै प्राविधिक कर्मचारी, ठेकेदार र कमिसन सेटिङको ‘नेक्सस’ रहेको आरोप लगाए।
“२ देखि ५ प्रतिशत कमिसन, भेरिएसनमार्फत हुने खेल र आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति व्यापक छ,” उनले भने।
त्यस्तै, उनले अर्थ मन्त्रालय माथि पनि दादागिरी गरेको आरोप लगाए। मन्त्रीहरूको भिजन कार्यान्वयनमा अर्थ मन्त्रालयले अवरोध गर्ने गरेको उनको भनाइ थियो।
सम्बोधनको अन्त्यमा उनले आफूलाई पराजित स्वीकार गर्दै कर्मचारीलाई व्यंग्यात्मक शैलीमा भने,
“ल, म हारेँ, तपाईंहरूले जित्नुभयो । तपाईंहरू खुसी मनाउनुस्, भोज खानुस्।”
साथै उनले चेतावनी दिँदै भने, “आज तपाईंहरूले गरेको कुकर्म कुनै दिन जीवनकै सबैभन्दा पीडादायी क्षण बन्न सक्छ।”
मन्त्री इङ्नामको यस्तो अभिव्यक्ति अहिले व्यापक बहसको विषय बनेको छ।