राजबिराज, १७ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। जनमत पार्टीका उम्मेदवार सुरेन्द्र शर्मा लाई स्वतन्त्र उम्मेदवार सरिता कुमारी यादव ले समर्थन घोषणा गरेकी छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी–३ बाट २२ जना उम्मेदवार मैदानमा छन्। तीमध्ये स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएकी यादवले अब जनमत पार्टीका उम्मेदवार शर्मालाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेकी हुन्।
सप्तरी–३ मा यादव समुदायको उल्लेख्य मतदाताको उपस्थिति रहेको अवस्थामा सरिता यादवको समर्थनले चुनावी समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ। सुरेन्द्र शर्मा मधेसी, गरिब, दलित तथा असहाय वर्गको पक्षमा आवाज उठाउँदै आएका नेताका रूपमा चिनिँदै आएका छन्। यस्तो अवस्थामा यादवको समर्थनले शर्मालाई थप बल पुग्ने विश्वास गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर ३ स्थित जनमत पार्टीको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा सरिता यादवले औपचारिक रूपमा समर्थन जनाएकी हुन्। सो अवसरमा सुरेन्द्र शर्माले उनलाई स्वागत गर्दै दर्जनौँ व्यक्तिलाई पार्टी प्रवेश समेत गराएका थिए।
यसअघि पनि सोही क्षेत्रमा समर्थनको श्रृंखला देखिएको छ। नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादव लाई राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार गजेन्द्र मण्डल ले समर्थन दिइसकेका छन्। यसले सप्तरी–३ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।