२०८३ साल ब‌ैशाख ५ गते शनिवार

अध्यक्ष गणेश पाण्डेको घरमा ढुंगा प्रहार प्रति प्रेस चौतारी नेपालको घोर निन्दा

काठमाडौं, कात्तिक १४। प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा भएको ढुंगा प्रहारको घटनाप्रति घोर निन्दा प्रकट गरेको छ।

गएराति करिब १२ बजे लमजुङ जिल्ला सदरमुकाम बेशीसहरस्थित अध्यक्ष पाण्डेको घरमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो। घटनामा घरका झ्यालका सिसा फुटेका छन् भने अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको बताइएको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्।

प्रेस चौतारी नेपालले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर संगठनका अध्यक्षकै घरमा भएको यो आक्रमणलाई योजनाबद्ध र गम्भीर षड्यन्त्रको रूपमा व्याख्या गरेको छ। भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक टिप्पणीहरू गर्दै घरमा आक्रमण गर्न उक्साउने गतिविधि हुँदै आएको र गएराति वास्तविक आक्रमण भएकोले यो योजनाबद्धरूपमा गरिएको स्पष्ट प्रमाणित भएको प्रेस चौतारीले जनाएको छ।

“अध्यक्षलाई डर देखाएर चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ।

प्रेस चौतारी नेपालले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कठघरामा उभ्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रतिक्रिया