२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

काठमाडौँ, ७ फागुन । रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्र दिवसले थप प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान तथा लोकतन्त्रको संरक्षणका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सम्पूर्णप्रति सम्मान प्रकट गर्नुभएको छ। प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति उहाँले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका अग्रजहरूप्रति सम्मान व्यक्त गर्नुभएको छ।

राष्ट्रपतिले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनताले अपेक्षा गरेको सुशासन र तीव्र विकासको मार्ग तय गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ। उहाँले निर्वाचनलाई निष्पक्ष, भयरहित र उत्साहपूर्ण बनाउन सबैलाई सक्रिय सहभागिताका लागि अपिल गर्नुभएको छ।

विसं २००७ को क्रान्तिको सफलतासँगै निरङ्कुश शासनविरुद्ध भएको बलिदानीपूर्ण सङ्घर्षबाट मानवअधिकार तथा नागरिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक उपलब्धिको सम्झनामा प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइँदै आएको उल्लेख गर्दै राष्ट्रपतिले जनताको सङ्घर्ष र सहिदको बलिदानबाट सार्वभौमसत्ता जनतामा निहित हुने मान्यता स्थापित भएको बताउनुभएको छ।

लामो सङ्घर्षपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणको महत्त्वपूर्ण आधार विसं २००७ को क्रान्ति रहेको स्मरण गराउँदै उहाँले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्वलाई स्थायी बनाउनाका साथै सहिदहरूको अमर गाथा स्मरण गराउने उल्लेख गर्नुभएको छ।

शुभकामना सन्देशमा लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै संविधानले न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको जनाइएको छ। राष्ट्रपतिले सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्य भएको उल्लेख गर्दै त्यसतर्फ सबैलाई सक्रियतापूर्वक लाग्न आह्वान गर्नुभएको छ।

प्रतिक्रिया