राजविराज, ३०साउन । करिब ३० लाख लागतमा निर्माण हुन लागेको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुली बजार स्थित हटियाकाे गिलेशनमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरि अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।
बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीयले गिलेशनको छ्त ढलान गर्दा ग्राभेल गिट्टी प्रयोग गरी छत ढलान गरेको आराेप लगाउदै छत ढलानकाे काेरकट्टीकाे ल्याब रिपोर्ट समेत सार्वजनिक गर्न मागँ गरेको छ ।
बजारबासी श्यामकान्त चौधरीका अनुसार सडकमा लगाउने ग्राभेल प्रयोग गरि गिलेशनको छत ढलान गरेको आरोप लगाए । जसमा माटो मिसिएको ग्राभेल प्रयोग गरेको देखेर स्थानीयले विरोध जनाएपनि केही अर्को गिट्टीसहितको सामाग्रीको प्रयोग गरेर रातरात छ्त ढलान गरेको उनले जानकारी दिए ।
गुणस्तरीय गिट्टीबालुवा प्रयोग गर्न उपभोक्ता समितिलाई अनुरोध गरेपनि सुनुवाइ नभएको चौधरीले बताए । उनले पैसा कमाउने नियतबस यस्तो कमसल निर्माण सामाग्री प्रयोग गरेको आरोप लगाए ।
‘बजार जस्तो ठाउँको गिलेशन गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो जोड थियो, तर गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको छ’ उनले भने,’यो सरासर भ्रष्टाचार हो, यसमा सम्बन्धित निकायले छानबिन गरि संलग्न व्यक्तिहरुमाथी कारबाही चलाउनु पर्छ । मानवीय सुरक्षासंग खेलवाड गर्न पाइदैन । ‘
गिलेशनको छत ढलान विवादमा परेपछि प्राविधिक टोली खटी एक महिनापछि २०८२ साउन १९ गते कोर कटिङ्ग गरेर लगेको बताउँदै उनले अहिलेसम्म ल्याव टेस्टको प्रतिबेदन सार्वजनिक नभएकोले अविलम्ब जनता समक्ष ल्याउन माग गरे ।
गिलेशनको छ्त ढलानमा कमसल सामाग्री प्रयोग गरिएकोले पुन: गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरि छ्त ढलान गर्नुपर्ने स्थानीयको भनाइ छ ।
गुणस्तरहीन सामाग्री प्रयोग बारे तत्काललै गाउँपालिका, वडालाई पटकपटक खबर गर्दा समेत बेखबर जस्तै बसेको स्थानीयले गुनासो गरे । जनप्रतिनिधि र कर्मचारीहरुकै मिलोमतोमा कमिसन लिएर यस्तो कम्जोर संरचना निर्माण गरिएको उनीहरुको आरोप छ ।
स्थानीय संचारकर्मी समेत रहेका रामनाथ चौधरीले गिलेशन निर्माणमा भएको कमजोरी उजागर गर्दा आफूलाई धम्की आएको बताए । उनले अनियमितता गर्ने पक्षका व्यक्तिबाट गिलेशनको विषय उठाए माथि पुर्याउने सम्मको धम्की आएको आरोप लगाए ।
'मलाई दवाव,प्रभाव र प्रलोभनमा पार्ने प्रयास पनि भयो आर्थिक प्रलोभन पनि देखाइयो, उनले भने,'सबै शक्ति लगाइयो, पछिल्लो समय छतढलानको विषय उठान गरे माथि पुर्याउने धम्की आएको छ ।'
पत्रकार सम्मेलनमा बोल्दै स्थानीय रोशन कुमार मण्डर, अर्जुन कोइराला, वीर बहादुर मगर, उज्ज्वल अधिकारीले गिलेशनको क्षतमा गुणस्तरहीन सामाग्री प्रयोग गरेको जिकिर गरे । गिलेशनको छत कमजोर रहेको बताउँदै उनीहरुले पुनर्निर्माणको माग गरे । स्थानीयको विरोधपछि ढलानको मोटाइ बढाउने सहमति भएपनि ५ इन्चभन्दा नबढाएको उनीहरुको भनाइ छ ।
उक्त योजनामा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको तर्फबाट ३० लाख, जनसहभागिता ३ लाख ४३ हजार २ सय ८८ गरि कुल ३३ लाख ४३ हजार २ सय ८८ रुपैयाको लागतमा गिलेशन निर्माण गरिएको निर्माण स्थलमा राखिएको बोर्डमा उल्लेख छ ।
स्थानीय उपभोक्ता समिति मार्फत २०८२/०१/ १५ देखि काम सुरु गरि २०८२/ ०३/ १५ गते काम सम्पन्न गर्ने गाउँपालिका र उपभोक्ता समिति वीच सम्झौता भएपनि असार २३ गते राती गिलेशनको छ्त ढलान गरिएको थियो ।
उपभोक्त समितिका अध्यक्ष मिश्रीलाल मेहताले पहिले प्रयोग गरेको सामाग्रीमा स्थानीयले बिरोध जनाएपछि अर्को निर्माण सामाग्री ल्याएर छत ढलान गरिएको बताए । गिलेशन निर्माण गुणस्तरीय सामाग्री प्रयोग गरेको दावी गर्दै उनले राजनीतिक प्रतिशोधको कारण योजनामा भएको लगानी अहिले सम्म भुक्तानी नपाउँदा उपभोक्ता समिति मारमा परेको बताए ।
यसबारे निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद यादवसंग पटकपटक बुझ्ने प्रयास गर्दा समेत सम्पर्क हुन सकेन ।