कृष्ण मण्डल
राजविराज, १९ माघ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उमेश कुमार यादव प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा होमिएका छन्।
सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार यादवले आफू हालसम्म सबैभन्दा अगाडि रहेको दाबी गर्दै भने, “यो निर्वाचन क्षेत्रमा मलाई टक्कर दिने कुनै उम्मेदवार छैन। दोस्रो, तेस्रो वा चौथो स्थानमा जो भए पनि, म पहिलो र अब्बल क्यान्डिडेटका रूपमा अगाडि छु।”
यादवले ‘द ग्रेट सप्तरी, बेस्ट सप्तरी, ग्रिन राजबिराज, क्लिन राजबिराज’ तथा ‘अपन गाम, सुन्दर ठाम’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए।
उनले सप्तरी–२ भित्र रहेका रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस कृषि विश्वविद्यालय, नर्सिङ कलेज लगायतका अधुरा विकास आयोजनाहरूलाई पूरा गर्नुका साथै नयाँ विकास योजनाहरूलाई मूर्त रूप दिने आफ्नो प्रमुख एजेन्डा रहेको जानकारी गराए।
विकाससँगै राज्यबाट भइरहेको विभेदविरुद्ध संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै यादवले शिक्षा, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राख्ने बताए। “जनताको आवाज बुलन्द गर्न र संसदमा प्रभावकारी रूपमा उठाउन प्रतिनिधिसभा सदस्यका रूपमा मलाई जिताउन चाहन्छु,” उनले भने।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ऐतिहासिक क्षेत्र भएको उल्लेख गर्दै यादवले यस क्षेत्रमा अहिलेसम्म कुनै पनि उम्मेदवार दुई पटक दोहोरिएर निर्वाचित नभएको तथ्य स्मरण गराए। आफू यसअघि संविधानसभा सदस्यका रूपमा एकपटक निर्वाचित भइसकेको अनुभव रहेको उल्लेख गर्दै उनले सो अनुभवलाई यसपटक जनताको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्व माओवादी पृष्ठभूमिका यादवले माओवादी पार्टी परित्याग गरी हाल जसपा नेपालमा प्रवेश गरेका हुन्। यसपटक उनी सोही पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक जनमत पार्टी का अध्यक्ष सिके राउत, स्वाभिमान पार्टी बाट सतिश सिंह लगायत कुल ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। उक्त निर्वाचन क्षेत्रअन्तर्गत ४ वटा स्थानीय तहका ३७ वटा वडा समेटिएका छन्। निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रमा चुनावी सरगर्मी थप तीव्र बन्दै गएको छ।