राजबिराज, १७ फाल्गुन । सप्तरी–२ मा स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका प्रत्याशी सतिश कुमार सिंह ले आइतबार राजबिराजमा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेका छन्।
चुनाव नजिकिँदै जाँदा आयोजित उक्त र्यालीलाई पार्टीले आफ्नो चुनावी अभियानको औपचारिक शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गरेको जनाएको छ।
पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागितामा निकालिएको मोटरसाइकल र्याली राजबिराज नगरका विभिन्न मुख्य सडक परिक्रमा गर्दै दशन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। र्यालीका क्रममा समर्थकहरूले पार्टीका झण्डा बोकेका थिए भने चुनावी नारासमेत लगाएका थिए।
कोण सभालाई सम्बोधन गर्दै प्रत्याशी सिंहले सप्तरीमा स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत क्षेत्रमा नागरिकको पहुँच अझै पनि सीमित रहेको बताए। ती क्षेत्रमा व्यापक सुधार ल्याउन आफू दृढ प्रतिबद्ध रहेको उनको भनाइ थियो।
“सर्वसाधारणले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था, शिक्षामा समान अवसर सुनिश्चित गर्ने तथा युवाहरूलाई स्थानीय तहमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु मेरो प्रमुख एजेन्डा हो,” उनले भने।
स्थानीय तहका अधिकार क्रमशः कटौती हुँदै गएको आरोप लगाउँदै उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। संघीय सरकारले मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूलाई मत दिएर विजयी गराउन मतदातासमक्ष आग्रह गरे।
मोटरसाइकल र्याली र कोण सभापछि राजबिराजको राजनीतिक गतिविधि थप सक्रिय बनेको स्थानीयको भनाइ छ।