राजबिराज, ७ जेठ । सडक डिभिजन लहानले निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको भन्दै पाँच वटा ठेक्का सम्झौता अन्त्य गरेको छ ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक अन्तर्गतको सडक डिभिजन लहानले आज सूचना जारी गर्दै पटक–पटक मौखिक तथा लिखित निर्देशन दिँदा समेत निर्माण कार्यमा सुधार नआएको, कार्यतालिका अनुसार प्रगति नभएको तथा काम सम्पन्न गर्ने तर्फ कुनै पहल नदेखिएकाले ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको हो ।
कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२)(क), ५९(७) र ५९(८) बमोजिम २०८३ जेठ ७ गतेको निर्णयबाट ठेक्का रद्द गरिएको हो ।
ठेक्का अन्त्य गरिएका योजनामध्ये सप्तरीको राजविराज–हनुमाननगर–भारदह सडक स्तरोन्नति, रुपनी–राजविराज–छिन्नमस्ता सडकको चार लेन विस्तार तथा राजविराज–छिन्नमस्ता सडक स्तरोन्नतिसम्बन्धी तीन वटा आयोजना शाह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिले लिएको थियो ।
यस्तै उदयपुरस्थित कोसोभा खोलामा पुल निर्माणको ठेक्का वाइपी/विकास एण्ड ब्रदर्स/बजरंगबली जेभी जनकपुरले तथा भालुबाही–लालापति खोलामा पुल निर्माणको ठेक्का याक्थुम्ह्याङ बीपी कन्स्ट्रक्सन जेभी, लहान–७ सिरहाले लिएको थियो ।
डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार Post Termination Evaluation गरी स्थापित हुने रकम सरकारी बाँकीसरह असुल गरिने जनाएको छ । साथै सम्बन्धित निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न आग्रह गरिएको छ ।