विष्णु मण्डल
राजबिराज, ३ जेठ । ३२ औँ मदन आश्रित स्मृति दिवसकाे अवसरमा नेकपा एमालेले सप्तरीले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
शनिबार स्मृति दिवसको अवसरमा रक्तदान तथा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाएको हो ।
नेकपा (एमाले) जनसगठन समन्वय समीती सप्तरीको आयोजनामा मदन–आश्रितको योगदानको स्मरण गर्दै एमालेका पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल , नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी लगायतका नेता कार्यकर्ताहरुले अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गर्दै स्मृति दिवस मनाइएको नेकपा एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिए ।
मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव सेवाका कार्यहरूमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गर्दै यस्तो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
एमाले पोलिटव्युरो सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले यस प्रकारका कार्यक्रममार्फत जनताको पीडामा साथ दिँदै समाजमा मानवीयता र सहानुभूतिको सन्देश प्रवाह गर्नु वर्तमान नेतृत्वको प्रतिबद्धता हो भन्ने स्पष्ट सन्देश जनसमक्ष पुर्याइएको बताए ।
कार्यक्रममा सहभागीहरूले जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न आजको आवश्यकता रहेको बताए । मदनको मार्गमा हिँडेमात्र मुलुकको हित हुने कार्यक्रममा सहभागीहरूको भनाइ रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सचिव देवनाथ यादव, उपसचिव दुर्गानन्द ठाकुर लगायत दर्जनौं जिल्ला कमिटीका सदस्य तथा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।