गोरखा, २२ असाेज । गोरखामा एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा एकै परिवारका ३ जनाको शव फेला परेको छ ।
भिमसेनथापा गाउँपालिका ६ अश्राङको मोहरिया टोलका ३४ वर्षका हेमबहादुर राना र उनका दुई छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घर नजिकैको काप्रोको रुखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा हेमबहादुर र उनका दुई छोराहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनालले बताउनुभयो ।
रुखको हाँगोको एकातिर ७ वर्षका जुम्ल्याहा छोरा र अर्कोतिर हेमबहादुर झुन्डिएको उहाँको भनाई छ । बाबुले छोराहरूलाई झुन्ड्याएपछि आफूले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
हेमबहादुरले गत साउनमा श्रीमतीले अर्कैसँगको गर्भधारण गरेपछि सम्बन्ध बिच्छेद गरेका थिए । तीनवटै शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ । जुम्ल्याहा दुई बालकलाई हजुर आमाले पालनपोषण गरी हुर्काएकी स्थानीयले जानकारी दिएका छन् ।