राजबिराज, १६ पुस । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्दै समाजलाई स्वस्थ र सुरक्षित बनाउने उद्देश्यसहित बुधवार विशेष समारोहका बीच आफूलाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरेको छ।
घोषणा कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि तथा जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघ–संस्था, विद्यालय, शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बाल अधिकार सुनिश्चित गर्न बालविवाह अन्त्य अत्यावश्यक भएको उल्लेख गर्दै यस घोषणाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने, समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने तथा विद्यमान कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकाय सहकार्यमा जुट्नुपर्नेमा जोड दिइयो।
कार्यक्रममार्फत बालविवाहविरुद्ध सामुदायिक प्रतिबद्धता सार्वजनिक गरिनुका साथै विद्यालय, अभिभावक, महिला समूह तथा युवा समूहहरूले बालविवाह हुन नदिन सक्रिय भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरेका थिए।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस जनमतका केन्द्रीय अध्यक्ष अवधेश झा, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार वैधनाथ यादव, सेभ द चिल्ड्रेनका प्रतिनिधि मकर बहादुर सार्की तथा बाल कल्याण अधिकारी शैलेन्द्र सिंहले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन दीपक कुमार मण्डलले गरेका थिए।