राजबिराज, २३ श्रावण । सप्तरीको सदरमुकाम राजविराजमा भाईको बञ्चरो प्रहारबाट दाजुको ज्यान गएको छ ।
राजविराज नगरपालिका–१ निवासी ४० वर्षीय लोकेन्द्र झाको आफ्नै भाईको बञ्चरो प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
झाका ३० वर्षीय भाई नरेन्द्र झाले शुक्रबार बिहान करिब १० बजेतिर घरायसी विवादका क्रममा बञ्चरो प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका लोकेन्द्रलाई राजविराजमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएकोमा केही समयमै उनको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीका अनुसार घरायसी विवादकै कारण बञ्चरो प्रहार भएको देखिएको छ । बञ्चरो प्रहार गरेर फरार भएका नरेन्द्रको खोजी भइरहेको प्रहरीले जनाएको छ ।