२०८२ साल असार २८ गते शनिवार

राजविराजमा तोडफोड र कुटपिट गर्नेहरूविरुद्ध कारबाहीको माग, प्रहरीमा उजुरी

राजविराज, ३ असार । राजविराज नगरपालिकामा एक साताअघि भएको तोडफोड तथा कुटपिट घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ।

मंगलवार नगरपालिकाकी कार्यवाहक प्रमुख ईसरत परविनले केही वडाध्यक्ष र आन्दोलनरत कर्मचारीहरूसँगै जिल्ला प्रहरी कार्यालय पुगेर प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई उजुरी बुझाएकी हुन्।

उक्त उजुरीमा निलम्बित नगरप्रमुख भीमराज यादव, योजना शाखा प्रमुख मनोज यादव, वडा नं. ९ का सुधीर यादव, वडा नं. ७ निवासी गजेन्द्र यादव (गज्जु) लगायत २०–२५ जनालाई सार्वजनिक तथा भौतिक संरचनाको अनधिकृत विनाश, तोडफोड र आपराधिक उपद्रव गरेको आरोप लगाइएको छ।

नगरपालिकाको आधिकारिक लेटरहेडमा लेखिएको उजुरीमा ती समूहले लेखा अधिकृत शत्रुधन लाल दासमाथि ज्यान मार्ने उदेश्यले कुटपिट गर्नुका साथै उनी लगाएको दुई तोला सुनको सिक्री समेत लुटेको उल्लेख छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६ अनुसार दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

प्रहरी प्रमुख खतिवडाले उजुरीको अध्ययनपछि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। कार्यवाहक मेयर परविनले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पनि सो सम्बन्धमा निवेदन दिइसकेको बताइन्।

उल्लेखनीय छ, जेठ २७ गते प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादका कारण राजविराज नगरपालिकामा झडप र तोडफोड भएको थियो। कार्यवाहक प्रमुख परविनले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहलाई हटाएर शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रशासकीय प्रमुखको जिम्मेवारी दिएकी थिइन्।

यसको विरोधमा निलम्बित मेयर यादवले जेठ २५ गते कार्यालयमा ताला लगाएका थिए। ताला फोडी २७ गते भोगेन्द्र यादवलाई हाजिर गराएपछि यादव समर्थकहरूले नगरपालिकामा तोडफोड गरेका थिए।


प्रतिक्रिया