राजबिराज, २१ कात्तिक । सप्तरीको राजविराजस्थित करदाता सेवा कार्यालय लहान सार्ने सरकारी निर्णयको विरोधमा शुक्रबार राजविराजका व्यवसायीहरूले बजार बन्द गरेका छन्।
सप्तरी उद्योग वाणिज्य संघको आह्वानमा गरिएको बन्दका क्रममा बिहानैदेखि व्यवसायीहरूले मुख्य बजार क्षेत्रमा टायर बालेर प्रदर्शनसमेत गरेका थिए। उनीहरूले कार्यालय सार्ने निर्णय फिर्ता गर्न सरकारसँग माग गरेका छन्।
संघका अध्यक्ष लालु प्रसाद अग्रवालको नेतृत्वमा व्यवसायीहरूले बजार परिक्रमा गरी खुलेका पसलहरू बन्द गराएका थिए। संघका अनुसार करदाता सेवा कार्यालय लहान सारिएपछि सेवाग्राहीहरूलाई अनावश्यक सास्ती हुने र राजविराजको व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने भएकाले विरोध गर्नु परेको हो।
अध्यक्ष अग्रवालले भने, “राजविराजबाट करदाता सेवा कार्यालय सार्ने निर्णय अन्यायपूर्ण छ। सरकारले तत्काल यो निर्णय सच्याएन भने हामी थप सशक्त आन्दोलनमा उत्रिनेछौं।”
व्यवसायीहरूले भनेको छन्— राजविराजमा ७० हजारभन्दा बढी करदाता आवद्ध छन् र कार्यालय सारिएपछि राजस्व संकलन र सेवामा गम्भीर समस्या पर्न सक्छ।