राजविराज, १८ भदौ । नेकपा एमाले सप्तरी जिल्ला समितिले संगठनलाई सुदृढ बनाउन विभिन्न जिम्मेवारी तोकेर कार्यविभाजन गरेको छ ।
नेकपा एमाले सप्तरी जिल्ला समितिकाे दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हाे ।
बैठकले सवै वित्तीय तथा काेष व्यवस्थापन विभागमा जिल्ला अध्यक्ष ताराकान्त चाैधरीलाइ जिम्मेवारी दिएको छ भने पार्टी स्कुल विभागकाे जिम्मा उपाध्यक्ष जायप्रकाश ठाकुरले पाएकाे छ । त्यसैगरी संगठन विभागकाे जिम्मा जिल्ला सचिव देवनाथ यादवले पाएकाे छ । स्थानीय विकास विभागकाे जिम्मेवारी उपसचिव कुसुम आचार्यले पाए भने प्रचार तथा प्रशारण विभाग, जनसंगठन समन्वय संयन्त्र, प्रशासन र पार्टीको प्रवक्ता जिल्ला उपसचिव दुर्गानन्द ठाकुरले जिम्मेवारी पाएकाे छ ।
एक सय ११ सदस्य रहेको जिल्ला कार्यसमितिमा थप १८ जनालाई सदस्य पदमा मनाेनित गरेको पार्टी प्रवक्ता ठाकुरले जानकारी दिनुभयो ।
एमाले सप्तरीले जिल्लाभरि पार्टीको प्रभाव विस्तार गर्ने, नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र संगठनलाई अझ अनुशासित ढंगले अघि बढाउने निर्णय समेत गरेको छ ।
पार्टी कार्यालय मदननगरमा सम्पन्न दाेस्राे पुर्ण बैठकमा जिल्ला कमिटीका पदाधिकारी, सदस्य तथा भ्रातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।