जनकपुरधाम, २२ कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार पदबाट राजीनामा दिएका छन्।
विश्वासको मत लिने वातावरण नबनेपछि उनले प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा पेश गरेका हुन्।
आज (शनिबार) बसेको मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारी गरेका थिए। तर बैठकमा पर्याप्त समर्थन नपाउने स्थिति देखिएपछि उनी बैठकबाट बाहिरिएका थिए। १० मिनेटका लागि स्थगित गरिएको बैठक डेढ घण्टासम्म पुनः सुरु नहुँदा उनले अन्ततः राजीनामा दिने निर्णय गरेका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल असोज २९ गते संविधानको धारा १६८(२) बमोजिम मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। ६ दलको समर्थनमा ५७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेपछि उनी मुख्यमन्त्री बनेका थिए।
उनको राजीनामासँगै अब मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।